सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्यसमितिले आगामी प्रतिनिधिसभा चुनावका लागि क्षेत्र नम्बर ४ बाट थापाको नाम सिफारिस गरेको हो ।
महामन्त्री थापाले भने २०७४ मा निर्वाचित भएको क्षेत्र काठमाडौँ ४ बाटै आफ्नो उम्मेदवारी रहने प्रष्ट पारेका छन् । उनी काठमाडौँ ४ बाट सर्वसम्मत रूपमा सिफारिससमेत भएका छन् ।
यसअघि उनको नाम कास्की क्षेत्र नम्बर १ बाट समेत सिफारिस भएको थियो ।
सर्लाही–४ मा यसअघि अमरेशकुमार सिंह निर्वाचित भएको क्षेत्र हो । उनले राजपाका राकेशकुमार मिश्रलाई हराएका थिए ।
त्यस्तै, प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर ४ ‘क’को प्रत्यक्षमा मधेस पार्टीका उपसभापति वीरेन्द्रप्रसाद सिंहको पनि एकल सिफारिस भएको छ भने ‘ख’मा अधिककुमार सिंह, अशोककुमार सिंह र नरेन्द्र रायको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएको कांग्रेस मधेस सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
प्रतिक्रिया