सिट बाँडफाँड मिलाउन कार्यदलको बैठक बस्दै

काठमाडौँ, १६ भदौ । सिट बाँडफाँडबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका थिए ।

कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँड गर्न गठबन्धनले ११ सदस्यीय कार्यदल नै बनाएर छलफल गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

बुधबार पनि कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँडबारे गम्भीररूपमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन । कार्यदल सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले आज बिहान ११ बजे पुनः छलफल गरिने बताए ।

कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए ।

कार्यदलमा सहमति नहुनेजस्तो देखिएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले पनि सिट बाँडफाँडबारे छलफल गर्दै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति