झापा १ बाहेक अन्यत्र चुनाव लड्दिनँ, तेस्रो ट्रायल हो पास हुन्छु : महामन्त्री शर्मा

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।

काठमाडौँ ५ कि झापा १ भन्ने चर्चा भइरहेका बेला बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् ।

महामन्त्री शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।”

तर, शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुंगो नलागेको बताए ।

चुनाव जित्ने दाबी गरेको शर्माले ‘तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने’ बताए ।

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्नसक्ने संकेत गरे ।

उनले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पारे । गठबन्धनमा सिट बाँडफाँड हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भने, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुंग्याउने सहमति भएको छ ।”

२०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति