युग पाठककाे केपी ओलीविरुद्ध चुनाव लड्ने घोषणा

काठमाडौं, १३ भदौ । लेखक युग पाठकले एमाले अध्यक्ष केपी ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् ।

ओलीले असंवैधानिक संसद विघटन गरेका बेला पाठक बृहत् नागरिक आन्दोलनमा संलग्न भएका थिए । उनले ओलीको आलोचना गर्दै लेखहरु पनि लेख्दै आएका छन् । प्रतिनिधिसभा सदस्य चुनावका लागि ओलीविरुद्ध खडा हुने क्रममा आफूले घोषणापत्र लेखिरहेको उनले जानकारी दिए । नेपाली, अंग्रेजीलगायत विभिन्न भाषामा उक्त घोषणापत्र आउने उनको भनाई छ ।

‘दार्शनिक दस्तावेज तयार पारेको हो, अबको समयमा यत्तिकै हावा कुरा गरेर हुँदैन,’ पाठकले भने, ‘जनताले बुझ्नेगरी त्यसलाई सामान्य भाषामा पनि तयार पार्छु । अहिलेसम्मका राजनीतिक दस्तावेजहरु युरोपकेन्द्री छन् भनेर पछिल्ला रिसर्चहरुले व्यापक हाइलाइट गरे । अब त्यसलाई उदारवाद र साम्यवादको भाष्यबाट बाहिर निकाल्नुपर्छ ।’

बाल्यकाल झापामा बिताएका पाठक पछिल्लो समय हेटौडा तथा काठमाडौं बस्दै आएका छन् । सरकारी जागिर छाडेर फुलटाइम लेखनमा आएका उनी राजनीतिक अभियानहरुमा पनि सक्रिय थिए । कुनै बेला कट्टर कम्युनिस्ट सदस्य बनेर हिँडेका पाठक नयाँ राजनीतिक पार्टी खोल्ने सुरमा छन् । तर त्यो कम्युनिस्ट पार्टी भने नहुने उनको प्रष्टीकरण छ ।

‘कम्युनिस्ट पार्टीको विचार र लिबरल डेमोक्रेसीको विचारले विगत पाँच सय वर्षयता किन सही ढंगले काम गर्न सकेन भनेर खोज्नुपर्छ, अब नेपालले पनि संसारलाई विचार दिनुपर्छ,’ उनले थपे, ‘किनभने स्वयं सत्ताको अभ्यास गर्दागर्दै माक्र्सवाद नै राज्य–पुँजीवादको वैचारिक हतियार बन्न पुग्यो ।’

उनले थपे, ‘त्यसैले हामी युरो औपनिवेशिक चक्रव्युहबाट बाहिर निस्कनुपर्‍यो । कृषि ध्वस्त पार्ने, मेसिनलाई महान ठान्ने भ्रम त्याग्नुपर्‍यो ।’ अनि यतिका वैचारिक लडाइँ लड्न प्रचण्ड या शेरबहादुर देउवा जोसुकैसँग लडे पनि हुन्थ्यो नि । किन ओलीसँगै लड्नुपरेको भन्ने प्रश्नमा पाठकको आफ्नै तर्क छ ।

‘हाइप्रोफाइल नेतासँग लड्दा आफ्ना मुद्दा सुरुमै कम्युनिकेट गर्न सकिन्छ, त्यसो गर्दा चुनाव किन लडियो भन्ने कारण स्थापित हुन्छ,’ उनले भने, ‘म झापामा जन्मे हुर्केको भएर त्यहाँको समुदायसँग घुलमिल छु, त्यो पनि कारण हो । त्यहाँका जनताको बीचको मेलमिलाप र अन्तर्घुलनलाई शक्तिका रुपमा लिएर अघि बढ्ने सोच हो ।’

यी त भए पाठकका विश्वव्यापी महत्वका सवालहरु । चुनावमा त स्थानीय मतदाता निर्णायक हुन्छन् । युरोप अमेरिकाले भोट हालेर जितिने होइन । तिनका लागि चाहिँ उनीसँग के छ त ? निर्वाचन क्षेत्रकेन्द्रित मुद्दाहरुमात्रै उठाउने हुँदा सबै नेता चोर हुन् भन्ने ठाउँमा पुर्‍यायो, राजनीतिलाई विचारबाट कटाएर केही व्यक्तिहरुको नायकत्वको टक्करमा पुर्‍याइदियो,’ उनले दाबी गरे, ‘अब त्यस्तो हुँदैन । मैले झापालाई मात्रै होइन, युरोप अमेरिकालाई पनि भन्नुपर्ने कुराहरु छन् ।’

उनको नागरिकताको नाम दिपककुमार पाठक हो । जिल्ला प्रशासन कार्यालयमा गएर यही नाम कायम गराउने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति