काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारको गलत नीतिका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार हुने खतरा बढेको बताएका छन् ।
आजदेखि ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले यस्तो बताएका हुन् ।
उनले जनादेशबाट गठित आफू नेतृत्वको सरकारलाई परमादेशबाट विस्थापन गरिएपछि मुलुकमा एकपछि अर्को आँच पुर्याउने काम भएको बताए । उनले भने, ‘जनादेशबाट गठित सरकारलाई परमादेशबाट विस्थापन गर्दै बनेको गठबन्धन सरकारले राष्ट्र र जनताका आधारभूत हितमाथि एकपछि अर्को आँच पुर्याउँदै मुलुकलाई गहिरो सङ्कटतिर धकेल्न उद्यत देखिएको छ । राज्य साझेदारी कार्यक्रम ९एसपीपी० सम्झौताका लागि भएको भित्री तयारी, नागरिकता विधेयक सम्बन्धमा सरकारको अनुचित हठ, जलश्रोतसँग सम्बन्धित हालै भएका कतिपय समझदारीहरू, छिमेक सम्बन्धमा उत्पन्न असन्तुलन आदिका कारण मुलुकको बाह्य सम्बन्ध नराम्रो गरी खलबलिएको छ ।‘
अध्यक्ष ओलीले सरकारकै गलत नीति र व्यवहारका कारण मुलुक भूराजनीतिक द्वन्द्वको शिकार बन्ने जोखिम बढ्दै गएको पनि निष्कर्ष निकाले । उनले भने, ‘मुलुकको अर्थतन्त्रका प्रायः सबै क्षेत्र नकारात्मक र जोखिमपूर्ण अवस्थामा पुगेका छन्। महँगीले जनजीवन आक्रान्त बनेको छ। भ्रष्टाचार, बेथिति र कुशासन उत्कर्षमा पुगेको छ। महँगी नियन्त्रण गर्दै जनतालाई राहत दिनुको साटो सरकार बिचौलियाको रोहबर र निर्देशनमा करका दर हेरफेर गर्ने, निश्चित व्यवसायिक घरानालाई पोस्ने र स्वस्थ व्यवसायिक वातावरण, प्रतिस्पर्धा र विधिको शासनलाई बदनाम गराउन केन्द्रित छ।‘
अध्यक्ष ओलीले विश्व राजनीति र भूराजनीतिक परिवेशमा नयाँ घटनाक्रमहरू विकसित भएका बताउँनुहुँदै परिवर्तित परिस्थितिले नेपालसामु राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती समेत थपिदिएको बताए ।



















प्रतिक्रिया