काठमाडौं । माओवादी केन्द्र परित्याग गर्दै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।
माओवादीमा देखिएको व्यक्तिवाद र स्वार्थका कारण आफू एमाले प्रवेश गर्न लागेको तामाङले बताए ।
पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने विषयमा आफूलाई पक्षपात गरेको तामाङको आरोप छ । ‘सार्वजनिक पदमा आलोपालो हुनु स्वभाविक हो,’ तामाङले भने, ‘पार्टीले सांगठनिक जिम्मेवारी दिनुपर्छ भन्ने मेरो भनाई हो ।’
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङका अनुसार भोलि ६ भदौ दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत उनलाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना हुने उक्त कार्यक्रममार्फत तामाङलाई पार्टी प्रवेश गराउन लागिएको उनले बताए ।
तामाङ स्थानीय निर्वाचनबाटै असन्तुष्ट थिए । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार बन्ने चाहना राखेका थिए । तर, पार्टीले सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि तामाङ असन्तुष्ट भएका थिए।
प्रतिक्रिया