एमाले उपाध्यक्ष पाण्डेले भने, ‘एमाले अप्ठ्यारो स्थितिमा छ’

पोखरा । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिले एमाले अप्ठेरो स्थितिमा रहेको बताएका छन् । यस्तो अप्ठ्यारो स्थितिमा पनि एमाले चुनावको तयारीमा जुटिरहेको बताएका छन् ।

आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा पाण्डेले अहिले एमाले २०५६ को जस्तो अप्ठेरो स्थितिमा रहेको बताए । उनले भने, २०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’

नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेले बताए ।

उनले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताए । ‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो,’ पाण्डेले भने, ‘यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति