राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ ।

बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ ।

सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा छन् । पहिलो– सदनमै पुनर्विचार गर्ने । दोस्रो– संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने ।

राष्ट्रपतिले पुनर्विचारका लागि नै फिर्ता पठाउने भएका कारण राष्ट्रपतिको संदेश उपर के गर्ने भनेर सरकार र सम्बन्धित मन्त्रालयले निर्णय गर्छ । त्यसपछि सम्बन्धित मन्त्रीले सदनमै पुनर्विचार गर्ने वा संसदीय समितिमा पठाएर पुनर्विचार गर्ने प्रस्ताव सदनमा राख्नेछन् ।

नागरिकता विधेयकका सन्दर्भमा सरकारले पहिलो बाटो रोजेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । त्यसपछि सांसद्हरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जबाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुने छ । मन्त्रीले जबाफ दिँदा सांसद्हरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन । स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुने छ ।

सभामुखले निर्णयार्थ पेस गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रियसभामा पठाउने तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति