निर्वाचनमा मिथ्या सूचना रोक्न कठिनाइ छ : मन्त्री कोइराला

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सामाजिक सञ्जालको हाबी बढी भएकाले निर्वाचनमा मिथ्या सूचना सम्प्रषेण रोक्न कठिनाइ भएको बताएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा नीति निर्माताको भूमिका’ विषयक अन्तरक्रियामा उनले सामाजिक सञ्जाल नियन्त्रण गर्ने संयन्त्र नबनाएसम्म यस्ता सूचना रोक्न नसकिने बताए ।

“कुनै पनि घटनामा प्रमाणित नभएसम्म दोषी ठहर गर्न मिल्दैन, निर्वाचनका समयमा विभिन्न दलका नेताले अपशब्द प्रयोग गरेको पाइन्छ”, मन्त्री कोइरालाले भने, “संसद्मा बोल्ने शब्द, अरु समुदायमा बोल्ने शब्दको अध्ययन गर्नुपर्ने जरुरी छ ।”

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले लोकतन्त्रमा मर्यादा र शिष्टता नै नेपालीपन भएको उल्लेख गर्दै जुनसुकै माध्यमबाट प्रयोग भएको भए पनि अमर्यादित शब्दलाई कानुनले नियमन गर्नुपर्ने बताए । उनले निर्वाचनका समयमा यस्ता शब्दको बढी प्रयोग हुने भएकाले त्यो बेला सामाजिक सञ्जालको अनुगमन गर्ने र नियन्त्रण गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाह र लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरीयाले निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्ने कानुनी व्यवस्था नै गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अधिवक्ता सन्तोष सिग्देलले ‘निर्वाचनमा मिथ्या, गलत सूचना र घृणास्पद अभिव्यक्ति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा निर्वाचनका समयमा र अन्य समयमा पनि यस्ता खालका सूचना सञ्चारमाध्यमबाट बढी सम्प्रेषण भएको उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति