विवेकशील साझा पार्टी पुनर्गठन हुँदै

काठमाडौं, २९ साउन । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि नेतृत्व खाली थियो । लामो समयसम्म पार्टीको अध्यक्ष खाली भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेको चार दिनपछि नेता पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।

‘विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ,’ उनले भनेका छन्, ‘तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति