काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूसँग एक्लै चुनाव लड्ने आँट नभएको टिप्पणी गरेका छन् । गठबन्धनले देशमा स्वस्थ प्रतिस्पर्धाको साटो दुस्मनी र झगडातर्फ लैजान खोजेको उनले आरोप लगाए ।
लोकतान्त्रिक शेर्पा संघको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले खासगरी सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसमाथि खनिएका थिए । उनले कांग्रेसलाई ‘लौरो टेकेर पनि अडिन नसक्ने भएको’ भन्दै कटाक्ष गरे ।
उनले भने, “बिचरा कांग्रेस माया लाग्छ । यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन । खुट्टै टेक्न नसक्ने भयो । कहिले प्रचण्ड खोज्या छ, कहिले को खोज्या छ । के भएको ? एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने ।”
कांग्रेसले लोकतन्त्रलाई गलत दिशामा धकेलिरहेको ओलीले बताए । यो प्रवृत्तिले देश अप्ठेरोमा पर्न सक्ने उनको चेतावनी थियो ।
“देशभित्रका जनताको परस्परमा दुस्मनी भयो भने त्यसले विकृत रूप लिन्छ । अर्काले फाइदा लिन्छ । कांग्रेस आफ्नै बुद्धिले हो वा अरूको उक्साहटमा हो, देशलाई त्यही दिशामा लगिरहेको छ,” उनले भने ।
उनले एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढ्ने देखेर सत्तारूढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागिपरेको आरोप लगाए ।
“पाँच दलीय गठबन्धन कहिले आठ दलीय गठबन्धन बनाउने भन्दै कुदिरहेका छन् । यो गठबन्धन किन बनाउनुपर्यो ?,” उनले भने, “यो गठबन्धन एमालेलाई बहुमतबाट रोक्नका लागि हो ।”
ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनै पर्ने बताए । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो ।
प्रतिक्रिया