काठमाडौँ । सर्वोच्च अदालतले नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो । आगामी सोमबार अर्थात् यही साउन ३० गते उक्त अस्पताल हटाउने वा नहटाउने विषयमा सुनुवाइ हुने छ । अदालतले उक्त संरचना हटाउनु पर्नाको कारणसहित लिखित जबाफ पेस गर्नसमेत आदेश दिएको छ ।
थापाथलस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँ पुगेर सूचना टाँस गरेका थिए । सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं २०८५ क्षे.फ. १–८–१–१ जग्गा अस्पतालले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरू (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ ।’
महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेको थियो । उक्त रिट निवेदनमा आज प्रारम्भिक सुनुवाइ गर्दै आगामी सोमबार सुनुवाइ नभएसम्मका लागि नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न आदेश दिएको हो ।
प्रतिक्रिया