न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले बर्खास्तमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज साहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘मिति २०७९ असार २४ मा न्यायपरिषदबाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद् सचिवालयबाट पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनु ।’

आदेशमा अधिवक्ता सल्लु तिवारीविरुद्ध न्यायपरिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउनसमेत भनिएको छ । न्यायपरिषद्को गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख बर्खास्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन साहले दायर गरेकी थिइन् । रिट निवेदनमा आफूले पाँच वर्ष काम गरिसकेपछि नियतबस हटाउने उल्लेख छ ।

साहमाथि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी भएको नाताले लामो समय सीटीइभीटीमा कार्यरत रहेको भए पनि पहुँचका आधारमा उच्च अदालतको न्यायाधीश बनाएको आरोप लागेको छ । परिषद्ले उच्च अदालतको न्यायाधीश बन्ने योग्यता नपुगेको उल्लेख गर्दै न्यायाधीश पदबाट बर्खास्त गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति