ओलीले भने– गठबन्धन दुई दिनको पाहुना हो

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए ।

“यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहन्छु,” उनले भने । ओलीले यदि देशको पक्षमा, लोकतन्त्रको पक्षमा र न्यायको पक्षमा कदम चाल्न पर्‍यो भने नेकपा (एमाले)ले पनि कदम चाल्न सक्ने बताए । त्यसका लागि एमाले कदम चाल्न तयार रहेको उनको भनाइ थियो । ओलीले गठबन्धनका नेताले कामु प्रधानन्यायाधीशको निवासमा गएर मुद्दा प्रभावित बनाएको संकेत पनि गरे ।

“तपाईंहरु देखिरहनुभएको छ, अखबार र अनलाइनहरुमा समाचार आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ दुई घन्टा बसे र त्यहाँबाट ती नेता बाहिर निस्केर घरतिर लागे, श्रीमान्‌जी अदालततिर जानुभयो,” ओलीले प्रश्न गर्दै भने, “के भइरहेको छ ? लेनदेन हुने गरेको छ अदालतमा । हामी हेर्न चाहन्छौँ, विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ सम्मनित अदालतबाट न्याय सम्पादन हुनुपर्दछ ।” ओलीले चेतावनीको शैलीमा अदालतलाई खुसामतमा नलाग्न पनि भने ।

“कुनै खुशामत होइन, कुनै खासखुस र लेनदेन होइन । कुनै घासघुस, जसको चर्चा चल्ने गरेको छ । त्यही कुरा निरन्तर हुनुहुँदैन,” ओलीले अदालतकै न्यायाधीशहरुले अदालत बिग्रियो र भ्रष्ट भयो भनेको भन्दै भने, “अदालतका न्यायाधीशहरु भनिरहनुभएको छ, अदालत बिग्रियो, अदालत भ्रष्ट भयो, अदालत घुसिया भयो उहाँहरु भनिरहनुभएकोछ । त्यसबाट मुक्त गर्न म श्रीमान् न्यायाधीशहरुलाई आग्रह गर्न चाहन्छु, गठबन्धनको उलामालामा अदालत लाग्नु हुँदैन ।”

अध्यक्ष ओलीले निर्वाचन पर सार्ने षड्यन्त्र भइरहेको भन्दै निर्वाचन सारे पनि २/४ महिना सार्ने तर निर्वाचनबाट भाग्ने ठाउँ सरकारलाई नरहेको बताए ।

उनले एमालेले चुनाव जित्ने तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेकपा (एमाले) विशेष अवस्थामा भएको र चारैतिरबाट घेरिएको भएपनि विशेष शक्तिका रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति