नागरिकता विधेयक पारितः नागरिकता पाउन बञ्चितहरुलाई सहज, विदेशी महिलाले विवाहलगत्तै नागरिकता पाउने

काठमाडौं, ६ साउन । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाले २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ । विधेयकमा ४५ सांसदले संशोधन दर्ता गरेका थिए ।

संविधान जारी भएपछि त्यसअनुसार संशोधन नभएका कारण नागरिकता पाउन बञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विधेयक पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानुन कार्यान्वयनमा आउनेछ ।

पारित विधेयकमा छ , ‘०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता प्राप्त गर्न बाँकीको संख्या हजारौं रहेको अब सहज हुने बताए ।

यो विधेयकका केही प्रावधानहरुमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको असहमति सहित संशोधन हालेका थिए । उनीहरुले विशेष गरी नेपालीसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने नागरिकताको हदम्यादबारे असहमति राखेका थिए । तर एमालेको असहमतिका बीच विदेशी महिलाले नेपालीसँग विवाह गरे लगत्तै नेपालको नागिरकता प्राप्त गर्ने पुरानै व्यवस्थालाई यथावत् राख्दै नेपाल नागरिकता पहिले संशोधन विधेयक पारित गरेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितले २२ महिना लगाएर छलफल गरेको पुरानो विधेयक फिर्ता लिएर सरकारले गत असार २४ मा नयाँ विधेयक ल्याएको थियो । उक्त विधेयकलाई संसदीय समितिमा नलगी शुक्रबार प्रतिनिधि सभाको बैठकमै छलफल गरी पारित गरिएको हो ।

अब नागरिकता ऐनको दफा ५ ले व्यवस्था गरे अनुसार नै अंगीकृत नेपाली नागरिकता प्राप्त हुनेछ । दफा ४ मा छ,‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ । निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति