एसपीपीको विषयमा अध्ययन हुँदै, उपयुक्त समयमा चिठ्ठी पठाइनेछः परराष्ट्र प्रवक्ता

काठमाडौँ, ४ श्रावण । अमेरिकासँगको स्टेट पार्टरनसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने सरकारले निर्णय भईसकेकाे भए तापनि एसपीपीको विषयमा अध्ययन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र प्रवक्ता लम्साल परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार भेटघाटमा मुलुकको दुईपक्ष तथा बहुपक्ष कुटनीतिक भेटघाट बैठक एवं सम्बन्धका विषयमा भए, गरेका गतिविधिबारे जानकारी दिँदै मन्त्रालयका प्रवक्ता सेवा लम्साल ।

बुधबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले अध्ययन भइरहेको बताएकी हुन् ।

एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरु देखिएपछि कहाँ-के र कसरी आएको हो त्यसको निर्क्यौल गरेर पत्र पठाइने उनले जानकारी दिइन् । ‘एसपीपीको विषयमा अध्ययन भइरहेको छ । उपयुक्त समयमा चिठ्ठी पठाइन्छ । विपद् व्यवस्थापन लगायतमा के-के मा सहयोग लिएको हो त्यो अध्ययन भइरहेको छ,’ प्रवक्ता लम्सालले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण कहिले हुने भन्ने सुनिश्चित नभएको उनले जानकारी दिइन् । ‘परराष्ट्र पहिले एउटा मितिलाई लिएर कुरा भइरहेको थियो । अब दुबै पक्षबाट सहमति भएपछि मिति बाहिर आउँछ । दुवै पक्षलाई अनुकुल नभइ मिति घोषणा गर्ने कुरा आउँदैन’ प्रवक्ता लम्सालले भनिन् ।

उनले संयुक्त राष्ट्रसंघको आउँदो महासभाको बैठकमा सबै देशका सरकार प्रमुख जाने भएकाले यसपटक नेपालबाट पनि उच्च तहकै टोली जाने तयारी भएको जानकारी दिइन् । उच्च तहमा कुन तहका व्यक्ति जाने भन्ने मन्त्रिपरिषद्ले गरेपछि टुंगो लाग्ने उनले उल्लेख गरिन् । उनले श्रीलंकाको संकटबारे नेपालले सिक्नुपर्ने धारणा पनि राखिन् ।

हालै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणबारे राजदूतावासले सामान्य सहजीकरण गरे पनि त्यसबारे सरकारलाई पूर्ण जानकारी नरहेको प्रवक्ता लम्सालले बताइन् । ‘विशुद्ध राजनीतिक भ्रमण भएकाले जानकारी छैन,’ उनले भनिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति