विराटनगर, २ साउन । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीले प्रदेशको नामका विषयमा प्रदेश कमिटीमा विवाद उत्पन्न भएकाे छ भने पार्टीको आधिकारीक धारणा सार्वजनिक नभएको जनाएको छ।
पहिचानका आधारमा प्रदेशको नाम राख्नु पर्ने धारणा रहेपनि अहिलेसम्म प्रदेश १ को नाम यही राख्नुपर्छ भनेर पार्टीले निर्णय नगरेको प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ले बताए। माओवादी संसदीय दलका नेता तथा प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश १ को नाम ‘किरात’ राख्ने विषयमा संसदीय दल एक मत रहेको बताएका थिए।
अध्यक्ष नेम्वाङले भने अहिलेसम्म पार्टीका नाममा सार्वजनिक भएका प्रदेशको नाम व्यक्तिगत भएको दाबी गरे। पार्टीका नाममा सार्वजनिक भएका नाम आधिकारीक नभएको उनको भनाई छ। उनले भने, ‘केन्द्रीय कमिटीबाट पनि नाम यही राख्नु पर्छ भनेर निर्देशन आएको छैन। सार्वजनिक भएका नामहरू पार्टीको आधिकारिक होइनन्।’
प्रदेश कमिटीका सचिव गणेश उप्रेती सुशिलले पार्टी पहिचानका आधारमा प्रदेशको नाम राख्नु पर्नेमा स्पष्ट रहेको भएपनि अहिलेसम्म यही नाम राख्नु पर्छ भनेर निर्णयमा पुगिनसकेको बताए। उनले भने, ‘पार्टीले भन्दा पनि संसदले प्रदेशको नाम राख्ने भएकाले नाम के राख्ने भन्ने निर्णय सदनले गर्ने छ।’ उनले संविधानमा नोट अफ डिसेन्ट हुँदाहुँदै पनि माओवादीले संविधान मानेर आएकाले प्रदेश १ सभाले प्रक्रियामा टुंगो लगाएको जुनसुकै नाम पनि मानेर जानु पर्ने अवस्थामा रहेको बताए।
प्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै गएपछि माओवादी केन्द्र प्रदेश १ ले नामको विषयमा छलफल गर्न प्रदेश कमिटिको बैठक बोलाएको छ। नामको विषयमा पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न मंगलबारदेखि शुक्रबार सम्मका लागि बैठक बोलाएको हो।
प्रतिक्रिया