अर्थमन्त्री छानबिन प्रकरण : मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी

काठमाडौँ । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् ।

अनधिकृत व्यक्तिमार्फत् करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो । समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका थिए । समितिले गत मंगलबारबाट मात्रै कार्यप्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थमन्त्रालयका विभिन्न तहका कर्मचारीहरुसँग छलफल गरेको छ ।

छानबिन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मानबहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन् । सांसद् पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन् ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ भयो । आइतबार नै सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इञ्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो ।

उनका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ भएको थियो । आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटीको इञ्जिनियरसँग छलफल गरिएको हो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । राजश्व सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सकाएको हो ।

अब समितिले आन्तरिक छलफल गर्ने तयारी गरेको छ । यसका लागि सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । समिति सदस्यहरुका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई नै बोलाएर छलफल गर्ने कार्यसूची पनि छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति