संयुक्त कार्यक्रमका लागि दाहाल र भाजपाबीच समझदारी

नयाँदिल्ली, १ श्रावण । भारत भ्रमणमा रहेका मा‌‌ओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय जनता पार्टी र मा‌‌ओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन् । भाजपा कार्यालयमा आइतबार अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो जानकारी दिएका हुन् ।

‘दुई पार्टीको सम्बन्धलाई दुई देशबीचको सम्बन्ध बलियो बनाउनका लागि राम्रोसँग बढाउनुपर्नेलाई नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु’ भेटपछि दाहालले भने, ‘कहिले बीजेपीको निमन्त्रणमा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा गर्ने समझदारी भएको छ ।’ दाहालले भाजपा अध्यक्षसँगको भेटबाट निकै उत्साहित रहेको बताए ।

भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको उनले उल्लेख गरे । ‘तपाईंहरुलाई थाहा छँदैछ, म भाजपा अध्यक्षको निम्तोमा यहाँ आएको हुँ,’ उनले भने ‘दुनियाँकै सबभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा भाजपा स्थापित छ । आज यसको कार्यालयमा आएर यहाँको व्यवस्थापन, पार्टी कार्यालय कसरी चलेको छ लगायतबारे बुझेको छु ।’

गत शुक्रबार भारत भ्रमणमा गएका दाहाल आइतबार स्वदेश फर्किनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति