काठमाडौँ, १ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोट गर्न ‘प्राइमरी इलेक्सन’को प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले प्राइमरी इलेक्सनको प्रस्ताव पेस गरेका हुन् ।
उनले भने, “१६५ मध्ये १५ जति र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ ‘प्राइमरी इलेक्सन’ गर्ने कि ? त्यसबारे छलफल प्रारम्भ गरौँ ।” यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरुभन्दा एक कदम अघि हुने र कांग्रेसप्रतिको आकर्षण पछिल्लो पुस्तामा भीषण ढंगले बढाउने उनको ठहर थियो ।
महामन्त्री शर्माले मुलुकको अर्थतन्त्रका विषयमा सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने बताए ।
“एकतर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नु छ । अर्कोतर्फ के नेपाल श्रीलंका बन्दै छ ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ । प्रमुख दलका रुपमा नेपाली कांग्रेसको कर्तव्य हो– जनतालाई ढाडस दिने, आशा जिवित राख्ने विश्वासमा लिने,” उनले भने, “अतः सरकारले आजको समग्र अर्थतन्त्रकाबारे श्वेत पत्र जारी गरेर, जनतासमक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ ।”
त्यसका लागि सरकारले प्रमुख प्रतिपक्षीलगायत संसद्मा रहेका सबै दल एवम् अर्थशास्त्रका विज्ञहरुसँग छलफल गर्नुपर्ने महामन्त्री शर्माले बताए ।
प्रतिक्रिया