लाउडा प्रकरण : गोली लागेको घाइतेलाई २१ वर्षपछि क्षतिपूर्ति दिन सिफारिस

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले लाउडा प्रकरणको विरोधका क्रममा खोटाङमा २१ वर्षअघि भएको गोली काण्डका घाइतेलाई क्षतिपीर्ति दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

लाउडा विमान खरिद प्रकरणका विरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीको गोली लागेर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राईलाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगले सरकारसमक्ष सिफारिस गरेको हो ।

तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध ६ बाम घटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले विरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए ।

आयोगले घाइतेलाई जनही एक लाखका दरले राहत तथा क्षतिपूर्ति दिन सिफारिस गरेको हो । प्रतापको २८ माघ २०६२ मा मृत्यु भइसकेकाले उनका हकवालालाई क्षतिपूर्ति उपलब्ध गराउन आयोगले भनेको छ । “घटना भएकै महिना आयोगमा उजुरी दिएका थियौँ,” रिजालले भने, “रजिष्ट्री गरिएको चिठ्ठीमार्फत् राहतका लागि सिफारिस भएको जानकारी पाएका हौँ ।”

‍संलग्न मिसिल, पीडितको बयान, प्रत्यक्षदर्शीको भनाइ, उपचार गराएको कागजात, प्रहरी प्रधान तथा पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरको पत्रबाट प्रदर्शनकारीले मसाल जुलुस निकालेको र उक्त जुलुस सकिएपछि प्रहरीले हवाई फायर गरेको, सो क्रममा चार जनालाई गोली लागि घाइते भएको र घाइतेहरुको तत्कालीन सरकारले उपचार गराएको पुष्टि भएको आधारमा राहत तथा क्षतिपूर्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

‍यस्तै, एउटै घटनामा प्रहरी प्रधान कार्यालय र तत्कालीन पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानीको जवाफ बाझिएपछि यथार्थ जानकारी उपलब्ध गराइदिन पटक–पटक पत्राचार गर्दा प्रहरी प्रधान कार्यालयबाट कुनै जानकारी प्राप्त नहुँदा आयोगको कार्यमा सहयोग नगरेको अवस्था देखिएको भन्दै अबदेखि यस्तो गल्ती नदेहोर्‍याउन र आयोगले मागेको विवरण यथार्थ रुपमा समयमै उपलब्ध गराउन निर्देशन दिने निर्णय आयोगको छ ।

‍लाउडा प्रकरणमा करोडौँ भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको थियो । मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुवै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ । उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । घट्नाकाबेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनीतिमा संलग्न थिए । उसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए । लाउडा प्रकरणमा प्रदर्शनकारीमाथि गोली चलाएको घट्नालाई जिल्लामा दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ ।

‍घाइते बनेकामध्ये दिपनारायण एमालेका नेता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान मेयर र दिपेन्द्र नेकपा (माओवादी केन्द्र)का नेता छन् । लाउडा प्रकरणका घाइतेलाई माओवादी केन्द्रले २३औँ जनयुद्ध दिवसको अवसर पारेर १ फागुन २०७४ मा सम्मान गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति