एमाले उपाध्यक्ष पौडेलले भने– यम बुद्धको सालिक निर्माण गर्ने निर्णय स्वागतयोग्य

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले र्‍याप गायक अनिल अधिकारी (यमबुद्ध)को सालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको निर्णयको स्वागत गरेका छन् ।

यम बुद्धको सालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् ।

प्रमुख साहले काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यम बुद्धका सालिक निर्माण गर्ने कुरा समावेश गरेका थिए । शालिक बनाउन १५ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

सालिक निर्माण गर्ने निर्णयको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि प्रमुख साहले आफ्नै तलबमा यम बुद्धको सालिक बनाउने घोषणा गरेका थिए ।

शालिक निर्माण गर्ने कुराको नेकपा (एमाले)का नेताहरुले पनि आलोचना गरेका थिए । तर, बुधबार प्रमुख साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा भेटी तबला उपहार लिएपछि उपाध्यक्ष पौडेलले सालिक बनाउने निर्णयाको स्वागत गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिप हप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ,’ एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति