ओली र बालेनबीच बालकोटमा भेटवार्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न मेयर साह बुधबार साँझ बालकोट पुगेका थिए । महानगरका विविध विषयमा कुरा गर्न मेयर साह बालकोट गएका थिए ।

अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालीन महत्वका कामहरु, देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएको योजनालगायत विषयमा कुराकानी गरेका थिए ।

बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैँ साथ रहने र एमालेका जनप्रतिनिधिले सधैँ साथ दिने बताएका थिए ।

त्यसक्रममा मेयर साहलाई ओलीले एउटा तबला उपहार दिएका थिए । अध्यक्ष ओली र साहबीच करिब एक घन्टा छलफल भएको थियो ।

ओली र साहबीच यो दोस्रो भेट हो । यसअघि काठमाडौँ महानगरको मेयरको मत गणना जारी रहेकै बेला साह ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति