एनआरएनलाई राजनीतिकबाहेक अधिकार दिनुपर्छ : ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएक छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा.बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो ।

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताए । ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए ।

उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए । ओलीले संविधानको भावना अनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए ।

उनले नेपालको राजनीतिमा आउन चहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए ।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्नेमा जोड दिए । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाइ थियो ।

भेटमा संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पास गरेर छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

टोलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालगायतसँग पनि भेटघाट गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति