काठमाडौँ । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फाेक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् ।
आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दुर्गम भेगको पदयात्रा हुने भएको हो । साथसाथै फाउण्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो । फाउण्डेसनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राखे । मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गरे ।
कार्यक्रमका विशेष अतिथि एवं सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राखिन् । उनले कालापत्थर यात्रादेखि फाेक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताइन् ।
साथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिइन् ।
“यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो,” अध्यक्ष कार्कीले कार्यक्रममा भनिन्, “हामी घर, घरमा बसेर, आ–आफ्नो पेशा व्यवसाय अगालेर बसेका नारी जलवायु परिवर्तनका मुद्दामा, जलवायु न्यायको मुद्दामा, महिलाको जनजीवनमा परेको अप्ठेरोको विषयमा हिँड्दै समस्या सुन्दै सुनाउँदै अघि बढिरहेका छौँ ।”
यात्रामा सरकारका विभिन्न तह, कूटनीतिक नियोग, सञ्चारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ । हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ । साथसाथै संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो ।
साथै हरेक वर्षको नारी दिवसको दिन कालापत्थर वा सगरमाथा हिमालय क्षेत्रमा जलवायु न्यायको मुद्दा बोकेर पदयात्रा गर्ने निर्णयसमेत गरेको छ । यसअघि भएको कार्यक्रमको प्रभावकारिता र सन्देशले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो ।
गत मार्चको कालापत्थर कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, प्रकृति संरक्षण कोष, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य थियो । फोक्सुण्डो पदयात्रामा मधेससहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद् र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।
कालापत्थर अभियानकै निरन्तरतास्वरुप आगामी अक्टोबर ८ देखि १४ सम्म पदयात्रासहितको विशेष कार्यक्रम हुन लागेको हो । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको हो ।
“हामी हाम्रा हिमाल, पहाड, खोलानाला, जंगलमा देखिएका समस्या विश्वलाई सुनाउन चाहान्छौँ । नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहान्छाैँ”, अध्यक्ष कार्कीले भनिन् । फोक्सुण्डो कार्यक्रममासमेत वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, टानका अध्यक्ष खुमबहादुर सुवेदीसहितले उक्त अभियानमा आफूहरूको सक्रियसाथ हुने दृढता राखे ।
प्रतिक्रिया