काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली किसानले कृषि उत्पादन र उत्पादकत्व बढाएमा बजारको कुनै समस्या नहुने बताएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा उनले भारत र चीन जस्तो विशाल दुई देशको बीचमा रहेको नेपालले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या नहुने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको खाद्यान्न आयात कसरी भयो भनी प्रश्न गरे । ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा लागेपनि यस्तो अवस्था सिर्जना किन भयो भन्ने प्रश्न अध्यक्ष ओलीको छ ।
“नेपालजस्तो ठाउँमा किन हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी भयो ? कृषि प्रधान देश ६० प्रतिशतभन्दा बढी जनता कृषिमा संलग्न छन्,” ओलीले भने, “यस्तो अवस्थामा कृषि प्रधान देशमा यस्तो उर्बर देशमा जहाँ यति हिमाल, नदीनाला, उर्बर फाँटहरु छन् । जहाँको जनसंख्या तीन करोडभन्दा कम छ । त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौँ एक वर्षमा ।”
अध्यक्ष ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध कहीँ पनि नगरेको दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को रोस्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरे पनि मल ल्याउनका लागि कुनै प्रबन्ध गर्न नसकेको उनको भनाइ छ ।
“अस्ती प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसद्मा उभिएर भन्नुभयो– किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिने छ र किसानले मल पाउनेछन् । वाणी मिठो थियो । कुरा राम्रो थियो । तर, ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ ? अर्थात् अलमल्याउने काम भएको छ । अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन,” उनले भने ।
उनले हरेक वर्ष किसानलाई मल आपूर्ति नहुने र बाली लगाउने बेला मात्रै सबैको चासो किन हुने भन्दै प्रश्न गरे । उनले भने, “हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन । यो किन यस्तो हुन्छ ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ । त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि !”
उनले अब हामीसँग रहेका परम्परागत, जीवनमुखी, निर्वाहमुखी कृषिले धेरै उत्पादन नदिने हुँदा नगदे कृषि उत्पादनमा लाग्नु पर्ने सुझाव दिए । उनले परम्परागत खेति किसानबाट भन्दा औषधीय गुण भएका, फलफूलजन्य, अत्तर बनाउन मिल्ने फूल उत्पादन, यार्सगुम्बाजस्ता उच्च दरको उत्पादन र नाफा दिने खेति गर्नतर्फ लाग्नुपर्ने बताए ।
प्रतिक्रिया