थाइ स्माइल एयरवेजले सुरु गर्‍यो बैंकक–काठमाडौँ सिधा उडान

काठमाडौँ । थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले आजदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा उडान सुरु गरेको छ । कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर पहिलो पटक नियमित उडान सुरु गरेको हो । बैंककबाट दिउँसो काठमाडौँ विमानस्थल अवतरण गरेको विमान यात्रु लिएर गन्तव्यतिर फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । कम्पनीले दुईतर्फी दैनिक एक उडान भर्ने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार थाइ स्माइलले आवश्यक सबै प्रक्रिया पुर्‍याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेसनल ट्राभल रहेको छ । कम्पनीले कुल १६२ सिट क्षमताको एयरबस ३२० विमानबाट उडान भरेको जनाएको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाइ स्माइल थाइ एयरवेजको भगिनी संस्था हो । थाइ स्माइलले सन् २०१२ जुलाइदेखि व्यावसायिक उडान सुरू गरेको थियो ।

कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति