काठमाडौँ, १७ असार । ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) को कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो ।
उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।
बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए।
यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही काम गरेका थिए।
भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा ‘मेनेजर टु वाच’ र सन् २०१५ मा ‘मेनेजर अफ द इयर’ विधामा पुरस्कृत भएका थिए। कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन भएका थिए।
प्रतिक्रिया