निजी क्षेत्रलाई कानुनले अनुमति दिएको काम गर्न नदिए देशद्रोही घोषणा गर्छौँ : मोतिलाल दुगड

काठमाडौँ । नेकपा (एमाले)ले कानुनले अनुमति दिएको क्षेत्रको काम रोकिए सम्बन्धित व्यक्ति र संस्थालाई देशद्रोही र भ्रष्ट घोषणा गर्ने जनाएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतिलाल दुगडले निजी क्षेत्रको काम रोकिएमा कुन–कुन कारणले रोकिएको हो भनेर उद्योगलाई जानकारी गराउनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा दुगडले भने, “नेपालको इतिहासमा नै उद्योगीहरु आन्दोलनमा आएका थिएनन् । तर, आगामी वर्षको बजेट आएपछि उद्योगीहरु आन्दोलनमा उत्रिनुपर्‍यो ।” सरकारले उद्योगमैत्री बजेट नल्याएको उनको आरोप छ ।

अर्थमन्त्री र सरकारले नै बजेट गलत आएको स्वीकार्दै त्यसलाई सुधार गरेर अगाडि बढ्ने भने पनि त्यस्तो नभएको दुगडले बताए ।

नेपालको स्यानिटरी प्याड उत्पादन नै बन्द गराउन सरकारले विदेशी प्याडको आयातमा कर घटाएको आरोप उनले लगाए । “देशको उद्योगलाई सहयोग गर्नेभन्दा पनि उद्योग बन्द गराउने पक्षमा यो सरकार रहेको छ,” उनले भने ।

नेपाल आर्थिक संकट भए पनि श्रीलंका अहिले बन्न नसक्ने भन्दै सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप उनले लगाए । उनले श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकको रुपमा चर्चा भएको बताए ।

प्रमुख दुगडले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायसँगको सल्लाह सुझावका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने बताए । उनले सरकार अर्थतन्त्र संकटमा पुग्दासमेत कोहीसँग छलफल र सहकार्य नगरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति