काठमाडौँ । एमालेमा बिउ रोपेर आएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को भनाइप्रति नेकपा (एमाले) नेता घनश्याम भुसालले जबाफ फर्काएका छन् । प्रचण्डले आजको आवश्यकता नबुझेको उनको भनाइ छ ।
भुसालले भने, ‘कमरेड प्रचण्डले आज कहीँ भन्नुभएछ– एमालेमा बिउ छाडेर आएका छौँ, हेर्नुहोला फल्छ । एउटा धारालाई संगठित गर्न र उत्साहित गर्न जे भन्नुभयो त्यसलाई स्वागन गर्नुपर्छ । तर, उहाँले आजको आवश्यकता राम्ररी बुझ्नुभएन । आज माओवादीको बिउ, एमालेको बिउ, एकीकृत समाजवादी कसैको पनि बिउ उम्रिदैन । यी नउम्रिने बिउहरु हुन् । हाइब्रिड बनाउनुपर्छ ।’
आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरु एकीकृत र केन्द्रीकृत गर्न नेकपा (एमाले)मा माओवादीको बिउ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए ।
रैथाने बिउले नहुने बताउँदै त्यसलाई हाइब्रिड बनाउनुपर्नेमा जोड दिँदै उनले धेरैभन्दा धेरै उत्पादन गर्ने बिउ बनाउनुपर्ने बताए । भुसालले माओवादी केन्द्र र एमाले मिलेर हाइब्रिड बिउ नेकपा बनाएको बताए ।
‘धेरै बिउमध्येबाट हाइब्रिड बनाउँदै धेरै उत्पादन हुने बिउ बनाउनुपर्दछ । कमरेड प्रचण्डले के भुल्नुभयो भने त्यो माओवादीको बिउ, एमालेको बिउ अब चल्दैन । नेकपा एउटा हाइब्रिड थियो, हाम्रो बुद्धि पुगेन त्यो बिउको भकारीमै आगो लगायौँ,’ उनले भने ।
उनले हाइब्रिड बिउबाट एकीकृत कम्युनिस्ट पार्टी बनाउन सकिने पनि बताएका थिए ।
याे पनि हेर्नुस्
एमालेमा माओवादीको बिउ रोपेका छौँ, केही समयपछि फल्छ : अध्यक्ष प्रचण्ड
प्रतिक्रिया