काठमाडौँ । नेकपा (एमाले)का तर्फबात निर्वाचित जनप्रतिनिधिहरुको भेलाले काठमाडौँ संकल्प जारी गरेको छ । बिहीबारदेखि काठमाडौँमा दुई दिने स्थानीय तह निर्वाचन २०७९ मा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम सुरु भएको थियो । सोही प्रशिक्षणमा सहभागि जनप्रतिनिधिहरुका तर्फबाट उक्त २० बुँदे संकल्प जारी भएको हो ।
संकल्पमा पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणा पत्र र प्रतिवद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरुले गरेका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने उल्लेख छ । ‘हामी शासक होइन, जनताका सेवक हुनेछौँ,’ पहिलो बुँदामा भनिएको छ ।
यस्तै, अन्य संकल्पका बुँदामा हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमुना बन्नेछन्, हामीहरु सदाचारमा नमुना बन्नेछौँ, आफूले कुनै भ्रष्टाचार गर्ने छैनौँ र कडाइकासाथ भ्रष्टाचार नियन्त्रण गर्ने छौँलगायत रहेका छन् ।
२० बुँदे संकल्प
१. हामी शासक होइन, जनताका सेवक हुने छौँ ।
२. हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनका नमुना बन्नेछन् ।
३. हामीहरु सदाचार नमुना बन्ने छौँ ।
४. आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौँ ।
५. भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्ने छौँ ।
६. समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृतिविरुद्धको अभियानमा अग्रपंक्तिमा उभिएर सामाजिक–सांस्कृतिक रुपान्तरणको अगुवाइ गर्ने छौँ । समाजको विकास, असल मूल्य, मन्यता र संस्कार स्थापित गर्न भूमिका खेल्ने छौँ ।
७. हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्छौँ । तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्ने छौँ ।
८. सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउने हाम्रो कर्तव्य हुने छ । यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झन्झटिलो र पारदर्शी बनाउन लागिरहने छौँ । कुनै गुनासो आएमा सकरात्मक रुपमा लिएर तत्काल संवोधन गर्ने छौँ ।
९. बेरुजु समयमै फर्स्यौट गर्ने छौँ र जनताबाट प्राप्त हुने सबै प्रकारका राजश्वको पूर्ण एवम् प्रभावकारी सदुपयोग गर्ने छौँ ।
१०. पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर ध्यान दिने छौँ । प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरु एवम् जनताको सामूहिक सम्पदाका रुपमा रहेका क्षेत्रहरुको संरक्षण र सम्बर्द्धनमा संवेदनशील बन्ने छौँ ।
११. पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने छौँ, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्ने छौँ, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्ने छौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्ने छौँ ।
१२. पालिकालाई लैंगिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछुत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवम् राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्ने छौँ ।
१३. विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ । योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्द्धन गर्ने छौँ ।
१४. स्थानीय उत्पादनको सम्बर्द्धन र प्रबर्द्धन गर्ने छौँ । समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तिलाई प्रोहत्सान गर्ने छौँ । बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्ने छौँ ।
१५. प्राकृतिक विपत्ति, महामारी र जनताको पीडामा अग्रपंक्तिमा उभिएर निःस्वर्थ सेवाभावले काम गर्ने छौँ ।
१६. धूम्रपान, सुर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्ने छौँ ।
१७. बैठकहरुलाई छरितो, परिणममुखी र विषय–केन्द्रित बनाउने छौँ । बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवाप्रवाहमा व्यतीत गर्ने छौँ ।
१८. नियुक्ति, सरुवा–बढुवा, सेवा सुविधा प्रवाहलगायतका विषयमा निष्पक्षता र योग्यलाई आधार बनाउने छौँ । परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ ।
१९. मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट बिदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्ने छौँ । यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्ने छौँ ।
२०. सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढंगले र सार्वजनिक हितमा प्रयोग गर्ने छौँ ।
प्रतिक्रिया