अन्तर्राष्ट्रिय सम्बन्ध समितिः नेपाल एसपीपीमा संलग्न नहुने औपचारिक जानकारी अमेरिकालाई गराउन परराष्ट्रलाई निर्देशन

काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सैन्य रणनीतिको हिस्सा रहेको तथ्यहरूले देखाएको भन्दै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने औपचारिक जानकारी अमेरिकी सरकारलाई दिन सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार समितिले परराष्ट्रमन्त्री नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र र रक्षा सचिव र सांसदहरुसँगको छलफल गरेको थियो। छलफलपछि निष्कर्ष पठाउँदै समितिले एसपीपीमा नेपाल सहभागी नहुने अमेरिकी सरकारलाई लिखित जानकारी पठाउन निर्देशन दिएको हो।

त्यस्तै, एसपीपीका सम्बन्धमा रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र सेनाले अमेरिकालाई पठाएका पत्राचार सात दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ। ‘हालै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपालको संलग्नता सम्बन्धमा सार्वजनिक भएका कुराहरू एवं विवादास्पद विषयमा नेपाल सरकारको औपचारिक धारणा निर्णयको रूपमा आउनुपर्छ,’ समितिको लिखित निर्देशनमा उल्लेख छ, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रूपमा रहेको तथ्य संयुक्त राज्य अमेरिका सरकारद्वारा प्रकाशित रणनीतिक प्रतिवेदनमा उल्लेख भएकाले उक्त कार्यक्रममा अब उप्रान्त नेपाल संलग्न नहुने् कुरा स्पष्ट रूपमा औपचारिक किसिमले अमेरिकालाई अवगत गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने।’

समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको हुने भनिएको अमेरिका भ्रमणमा विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सम्झौता नगर्न पनि निर्देशन दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति