हेटौंडामा वडाध्यक्ष छाडेर दिए जिसस प्रमुखका लागि उम्मेदवारी

हेटौंडा, ३० जेठ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि वडाध्यक्ष नै उम्मेदवार बनेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानको उम्मेदवारी परेको हो ।

उनी हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष हुन् । माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले मकवानपुरमा निर्वाचित माओवादीका जनप्रतिनिधि मध्ये सबैभन्दा वरिष्ठ भएकाले घलानलाई नै जिससमा पठाएको बताए ।

घलान बागमती प्रदेश सचिवालय सदस्य हुन् ।माओवादीले मकवानपुरभरीमा २ पालिका प्रमुख, ७ उपप्रमुख र २४ जना वडाध्यक्ष जितेको छ । यस्तै नेकपा एमालेबाट जिसस प्रमुखमा बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार सोमबार उम्मेदवारी दर्ता भएको हो ।

गठबन्धनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइटेलको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिनाकुमारी थिङ लामाको उम्मेदवारी परेको छ ।

महिलातर्फ ३ जना सदस्य निर्वाचित हुनेछ । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ । खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्क बहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ ।

नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा एमालेले दुई अध्यक्ष र एक उपाध्यक्ष मात्र जितेको छ र समन्वय समितिमा उसको मात्र ३ मत छ । सत्तारुढ गठबन्धनको भने १७ मत छ । हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष घलान जिसस प्रमुख निर्वाचित भएमा यो वडामा उप चुनाव गर्नु पर्ने हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति