दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने

  • विशाल बस्नेत

महोत्तरी । २१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हानिदा दलित भएकै आधारमा भर्नाबाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् । शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइ दियो ।

तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागु भएको छ । दलित भएकै आधारमा भर्ना नपाएको समाचार केही सञ्चार माध्यमहरुले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरुले ३०४ वर्ष पुरानो देशकै जेठो गुरुकुल महोत्तरीको मट्टिहानीस्थित राजकीय संस्कृत माध्यामिक विद्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन् ।

“केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौँ,” मट्टिहानीस्थित उक्त गुरुकुलका प्राचार्य ईश्वरी पौडेलले भने ।

चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।

बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाई पनि भेदभावको नजरले नहेरिने बताउँदै प्राचार्य पौडेलले भने, “हाम्रो विध्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीहरु समेत अध्ययन गरिरहेका छन् ।”

४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या बन्ने अभिभावकहरुको गुनासो छ । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने शर्तमा भर्ना गर्न लागेको अभिभावकहरुको भनाइ छ ।

अभिभावकहरुको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरु प्रतिबद्ध रहेको बताउँदै प्राचार्य पौडेलले छात्रहरुलाई निर्धक्क भएर मट्टिहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति