निर्वाचनमा जितेकाे लौरो नुवाकोटे जनताको जीउमा बजारियाेः सांसद खतिवडा

काठमाडौँ, २६ जेठ । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले काठमाडौंकाे निर्वाचनमा जितेकाे लौरो नुवाकोटे जनताको जीउमा बजारिएको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । लौरो चुनाव चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएयता संयोगवश उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइड भरिएपछि सरकारले धादिङको धुनीवेशी नगरपालिकास्थित बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न खोजेको थियो। तर बञ्चरेडाँडा रुटका स्थानीयले आफूहरुलाई मार पर्ने भन्दै आन्दोलन गरेपछि मंगलबार र बुधबार त्यहाँ प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा स्थानीयमाथि प्रहरीले लाठी र अश्रुग्यास हानेको थियो। अर्कातिर स्थानीयले बियरका बोतल र ढुंगाले प्रहरीमाथि आक्रमण गरेका थिए।

यसैलाई लिएर सांसद खतिवडाले प्रतिनिधिसभामा प्रश्न उठाएका हुन्। ‘जेठ २४ र २५ गते नुवाकोटको ककनी र धुनीवेशीबीचको बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निहुँमा प्रहरीले दमन गरेको छ’, उनले भने, ‘स्थानीय निर्वाचनमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको छ।’ सांसद खतिवडाले १७ वर्षदेखि फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा केन्द्रीय सरकारले बेथिति थोपरेको पनि गुनासो गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति