२४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना, ९७ जनाकाे मृत्यु

काठमाडौँ, १६ जेठ । जोमसोमका लागि १९ यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षभित्रको १३ औं हवाई दुर्घटना रहकाे छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्ष यता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् ।

दुईवटा टुइनअटर विमानबाट २०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २४ वर्षयता आफ्ना दुई सञ्चालक दाजुभाइ सहित १३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित ९७ जनाले ज्यान गुमाएका छन् ।

हरेक दुई वर्षमा हवाई दुर्घटना बेहोर्नु परेपछि यतीले दुर्गम उडानका लागि १३ वर्षअघि छुट्टै कम्पनी स्थापना गरेकाे थियाे जसकाे नाम तारा एयर राखियाे । तर तारा एयर स्थापना भएयता ६ वटा दुर्घटना भइसकेका छन् । यो आँकडा हेर्दा यती समूहकै जहाज हरेक दुई वर्षमा दुर्घटनामा पर्ने गरेको देखिन्छ ।

२४ वर्षयता यती र दुर्गम उडानका लागि स्थापना गरिएको सहायक कम्पनी तारा एयरसमेत गरी पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १३ वटा हवाई दुर्घटना बेहोरिसकेको छ ।

कुल १३ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ६ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी ७ वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने हुन पाएन । अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिन्छ ।

प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ अनुसार, २०१२ सालदेखि ०७६ चैत्रसम्म नेपालमा भएका १ सय ७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान ३, एकल इन्जिनयुक्त विमान ८, विदेशी वायुसेवाका ९, हेलिकप्टर ३६ र मल्टी इन्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भएकाे देखिन्छ ।

यीमध्ये दुर्गम भेग उडानमा चार दशकदेखि नेपालमा प्रख्यात क्यानेडियन ट्विनओटर विमानमात्रै २४ वटा दुर्घटनामा परिसकेका छन् । जसमा ९ वटा घटनामा यती तथा ताराका नामले उडाइएका ट्विनओटर विमान परेका छन् ।

२०४१ साल यता ट्विनओटर दुर्घटनामा मात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनओटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा आइतबार मुस्ताङको सानोसरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो ।

प्रारम्भिक अनुमान अनुसार, यो दुर्घटना हुनुमा ‘हुयुमन इरर’ भनिएको छ । दुर्गम उडानमा ताराको नाममा ४ वटा ट्विनओटर सुगम उडानमा यतीको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ८ वटा विमान बाँकी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति