काठमाडाै, १३ जेठ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयको उचित सम्बोधन गर्ने गरेर नीति तथा कार्यक्रम ल्याइएको दाबी गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उत्तारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गरे ।
राष्ट्रिय सभाको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुमाथि स्पष्ट पार्दै मन्त्री शर्माले पेट्रोलीयम पदार्थको हाल प्रचलित बजार मूल्यमा घाटा व्यहोरी सरकारले उपभोक्तालाई उपलब्ध गराएको पनि बताए । उनले भने, ‘पेट्रोलियम पदार्थ मुलुक बाहिरबाट आयात गरी बिक्री वितरण हुँदै आएको विषय हो । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उत्तारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित हुने गर्दछ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न र स्वचालित मूल्य प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ । यसको बाबजुद उपभोक्तालाई सहुलियत प्रदान गर्न पेट्रोलीयम पदार्थको हाल प्रचलित बजार मूल्यमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र ग्यास प्रति सिलिण्डर ८ सय ७९ रुपैयाँ ८५ पैसा घाटा व्यहोरी सरकारले उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । केही समय यता युक्रेनमा भएको आक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा अस्वभाविक वृद्धि हुन पुगेको छ ।’
मन्त्री शर्माले प्रश्तुत नीति तथा कार्यक्रमले मुलतः सरकारको प्राथमिकतामा रहेका राष्ट्रिय महत्वका र मुलुकलाई दीर्घकालीन रुपमा प्रभावित गर्ने विषयहरुलाई प्राथमिकताका साथ समेट्ने प्रयास गरेको बताए ।
प्रतिक्रिया