काठमाडाै, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भय रहित वातावरणमा हुन नसकेको बताएका हुन् ।
उनले निर्वाचनमा धाँधली भएको तथा निर्वाचन भएको १४ दिन बितिसक्दा पनि सबै ठाउँको मत परिणाम नआएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए । सत्तापक्षले निर्वाचनलाई शान्तिपूर्ण बनाउन नदिएको उनले आरोप लगाएका छन् । सत्तापक्षले पञ्चायत कालमा समेत नभएको राज्य संयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप गरेको उनले बताए ।
उनले भने – ‘निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भो भनिएको छ । वैशाख ३० गते निर्वाचन भएको थियो । आज १४ दिनपछि परिणाम किन आइराखेको छैन ? कतिपय ठाउँको परिणाम त आज १४ दिन पछि पनि आएको छैन । किन परिणाम आएको छैन । निर्वाचन स्वच्छ हुन सकेन । धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरिह भएर हेरेर बस्या छन् । र बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ताहरु गिरफ्तार गरिएका छन् । यातना दिइएको छ । उम्मेदवारका घरमा बम पड्काइएको छ । कति बुथमा ? कति मतदान केन्द्रमा स्थगित भएको थियो निर्वाचन ? निर्वाचन के सोखले स्थगित भएको थियो ? म दावासाथ भन्छु एउटा ठाउँमा पनि प्रतिपक्षको कारणले स्थगित भएको होइन । सत्तामा बसेर सरकारको त कर्तव्य हुन्छ शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने, तर सत्तापक्ष आफैँले निर्वाचनलाई शान्तिपूर्ण हुन नदिने, जसरी भएपनि परिणाम आफ्नो पक्षमा पार्नुपर्ने । पञ्चायतकालमा पनि हामीले जनपक्षिय भनेर सहभागिता जनाएका थियौँ । यस्तो नांगो ढंगले राज्य संयन्त्रको दुरुपयोग गरेर कब्जा गर्नेखालको सत्तापक्षिय क्रियाकलाप यो तहमा त पञ्चायतले पनि गर्दैनथ्यो होला । त्यतिसाह्रो यसपल्ट भयो ।’
अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाइ तेलमा मात्रै तारेको जेरीजस्तो भएको टिप्पणी गरे । नीति तथा कार्यक्रमको कुनै दिशा नभएको उनले बताए । नीति तथा कार्यक्रम अर्थहिन भएको उनले टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रममा एउटै बुँदामा पनि भनाईहरु बाझिएका र एक अर्का बुँदाहरुको बिचमा अन्तरबिरोध भएको उनले उल्लेख गरे ।
प्रतिक्रिया