फोर्ब्स प्रभावशाली सूचीमा नेपाली पाँच युवाहरूकाे नाम

काठमाडौं, जेठ । अमेरिकी म्यागेजिन फोर्ब्सले यो वर्षको एसियाका ‘३० अन्डर ३० एसिया’ अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूची सार्वजनिक गरेको छ।

बुधबार सार्वजनिक उक्त सूचीमा नेपालबाट पाँच जना छानिएका छन्। सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्।

फोर्ब्सका अनुसार यस वर्षको सूचीमा चार हजारभन्दा बढी उम्मेदवारहरूले आवेदन दिएका थिए। यसबाट जम्मा तीन सय जना छनौट गरिएको थियो। र, सोही तीन सय जनाबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरू फोर्ब्सको ‘३० अन्डर ३० एसिया’ मा चुनिएका हुन्।

यी हुन् ३० वर्ष मुनिका ३० जना प्रभावशाली युवाहरूको सूचीमा पर्ने पाँच नेपाली युवा
सुजित पाठकः
२९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह-संस्थापक हुन्। उनी ‘कन्जुमर टेक्नोलोजी’ विधामा सूचीकृत भएका हुन्। प्रारम्भिक दिनमा एक सञ्चार एपको रूपमा सुरू भएको इनग्रेल नेपालले हाल नेपालको ८ सयभन्दा बढी विद्यालयमा डिजिटल सहायता पुर्‍याइरहेको छ। कम्पनीले ‘वेद’ एपमार्फत विद्यालयहरूको सञ्चालन, वित्त, सञ्चार र डेटा व्यवस्थापन गर्न मद्दत पुर्‍याइरहेको छ। सन् २०२२ को मार्चमा वेद एप एप्पल स्टोरमा पनि सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीको दोस्रो स्थानमा परेको थियो।

सुमित दाहालः
सुमित दाहाल नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन्। २७ वर्षीय सुमितले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन्। उनले चिलीको अटाकामा मरूभूमिमा ब्रह्माण्डको प्रारम्भिक क्षणका माइक्रोवेबका अवशेषहरू अध्ययनका लागि तीनवटा माइक्रोवेब टेलिस्कोप तयार पारेका छन्। नासामा उनको काम भनेको टेलिस्कोपका लागि अति संवेदनशील सुपरकन्डक्टिङ सेन्सरहरू विकास गर्नु हो।

सुमितले जोन्स हप्किन्स विश्वविद्यालयबाट एस्ट्रोफिजिक्समा पिएचडी गरेका छन्। साथै, न्यूयोर्क विश्वविद्यालय आवुधाबीबाट भौतिकशास्त्र र गणितमा स्नातक सकेका छन्। उनको नाम ‘हेल्थ एन्ड साइन्स’ अर्थात् स्वास्थ र विज्ञान विधामा परेको हो।

ऐश्वर्या रानी सिंहः
पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष ऐश्वर्या रानी सिं‍ह ‘सोसल इम्प्याक्ट’ अर्थात सामाजिक प्रभाव विधामा सूचीकृत भएकी हुन्। पुतली नेपाल एक गैरनाफामूलक संस्था हो, जसले युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न मद्दत गर्छ। यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था छ।

संस्थाले आफै बनाएर मेन्स्ट्रुअल कप र मेन्स्ट्रुपेडिक कमिकहरू बिक्री गर्दैछ। स्थापना भएदेखि यसले एक हजारभन्दा बढी महिलाहरूलाई महिनावारी समय मेन्स्ट्रुअल कप प्रयोग गर्न प्रेरित गरेको छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १४ हजार भन्दा बढी मानिसहरूलाई यसको प्रयोगबारे तालिम दिएको छ।

फोर्ब्सको यो वर्षको एसियाका ‘३० अन्डर ३० एसिया’मा पर्न सफल एक मात्र नेपाली महिला ऐश्वर्या २८ वर्षकी भइन्।

निरज काफ्ले र सन्तोष पाण्डे
‘रिटेल एन्ड इ-कमर्स’ विधामा सूचीकृत निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह-संस्थापकहरू हुन्। २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका हुन्।

‘अफरिङ ह्यापिनेस’ ले उपहार र सर्प्राइज प्याकेज डेलिभरी गरेर खुसी बाँड्छ। यस मार्फत् ग्राहकले उपहार, भ्रमण, डिनरदेखि विभिन्न सेवाका प्याकेज आफ्ना प्रियजनलाई दिन सक्छन्। अफरिङ ह्यापिनेस नेसनल जिओग्राफीले तयार पारेको वृत्तचित्र ‘ओन द रूम’ मा पनि फिचर भएको छ। यो सन् २०१८ मा ‘ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनरसिप अवार्ड’ बाट पनि सम्मानित भएको थियो।

यस पटक फोर्ब्सले छनौट गरेको पहिलो ३०० जनाको सूचीमा दक्षिणपूर्व एसियाबाट बढी स्टार्टअप, समाजसेवी लगायत उद्यमी परेको फोर्ब्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

‘यस वर्षको सूचीमा तीन सय प्रविष्टिहरूमध्ये ९० जना दक्षिणपूर्व एशियाबाट आएका थिए,’ फोर्ब्सको वेबसाइटमा लेखिएको छ, ‘दक्षिणपूर्व एसियामा स्टार्टअप इकोसिस्टम बढिरहेको छ र विश्वव्यापी उद्यमी पुँजी आकर्षित गरिरहेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति