कांग्रेसकाे क्षेत्र बुलिङटारमा एमालेका २८ बर्षे दीपेन्द्र बने अध्यक्ष

चितवन, ११ जेठ । नेपाली कांग्रेसका शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुलिङटारले तीन पटकसम्म उनलाई जिताएको छ । कतिपय कांग्रेस कार्यकर्ताले बुलिङटारमा झण्डै ९० प्रतिशतभन्दा बढी कांग्रेस रहेको बताउँछन् । त्यस क्षेत्रमा एमालेका दीपेन्द्र सुनारी मगरले अध्यक्षमा जीत हासिल गरेका छन् ।

गाउँपालिका अध्यक्षका लागि दीपेन्द्र सहितसात जनाको नाम सिफारिस भएको थियो । नवलपुर जिल्ला इञ्चार्ज तिलक महत, सहइञ्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेललगायतलाई आफूले कन्भिन्स गरेको दीपेन्द्र बताउँछन् । अन्ततः दीपेन्द्रले एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाए । पढे लेखेका युवालाई गाउँमा बोलाए । तथ्याङ्कलाई टेकेर उनीहरुले योजना बनाए ।

चुनावमा दीपेन्द्र चार हजार ५९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका शशीकिरण बस्ताकोटीले ३ हजार ९ सय मत ल्याए । यहाँका १२ हजार ५०१ मतदातामध्ये ८ हजार ४२२ मत खसेको थियो ।

अघिल्लोपटक गाउँपालिका अध्यक्ष बनेका कांग्रेसका बास्ताकोटी यसपटक पनि जित्नेमा ढुक्क थिए । तर, जनताले मतमार्फत मन फेरे । अहिलेसम्म बुलिङ्टारमा नहारेको कांग्रेसलाई हराएर दीपेन्द्रले इतिहास रचे । जम्मा ६ वटा वडा भएको गाउँपालिकामा उपाध्यक्षसहित पाँचवटै वडामा कांग्रेसको प्यानलै विजयी भएको छ ।

वडा नम्बर ५ र अध्यक्ष मात्रै एमालेले जितेको छ । दीपेन्द्रको वडामा समेत कांग्रेसले जित्यो । उनी भन्छन्, ‘केही दिन समय पाएको भए, यी वडामा जित निकाल्न असहज थिएन । अब यो मतलाई विश्वासमा बदल्छु ।’ बुलिङटारमा जितको अर्को कार्ड थियो, मगर जनमत । ७८ प्रतिशत मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा ६ प्रतिशत रहेका बाहुन क्षेत्रीले मात्रै शासन गरेको बुझाइ रहेको दीपेन्द्र बताउँछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति