अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमै अन्तरघात भयो, यस्तो गर्न कहाँबाट सिकेछन्ः ओली

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। भकाभक उपमेयर जित्ने, मेयर हार्ने भन्ने हुँदैन।’

ओलीले माधव नेपालको पार्टीमा समेत यस्तो अन्तरघात नभएको बताए। ‘अरू पार्टीमा नभएको यस्तो अन्तरघात हाम्रो पार्टीमा मात्रै कसरी भयो हामीले खोज्नुपर्छ,’ ओलीले बैठकमा भने,‘अर्को कारण राज्यसत्ताको चरम दुरूपयोग भयो। केही ठाउँमा हाम्रा साथीहरूको हत्यासम्म भयो। लोकतन्त्रको चीरहरण गर्ने काम भयो। त्यसले पनि हाम्रो मतमा प्रभाव पार्‍यो।’

वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। अब काठमाडौं महानगरसहित ६ पालिकामा मात्र अन्तिम परिणाम आउन बाँकी छ। एमाले यसपालि दोस्रो दल बनेको छ।

२०७४ को चुनावमा २९४ पालिका जितेको एमाले यसपालि २०३ पालिका मात्रै मेयर र अध्यक्ष जितेको छ। चुनावी परिणामपछि ओलीले पहिलो पटक बुधबार यसबारे प्रतिक्रिया दिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति