भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का बालकृष्ण निर्वाचित भएका छन् ।
त्रिपाठी ४ हजार ६३८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।
उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम् प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४४२ मत प्राप्त गरिन् भने निर्वाचित शुशिला यादवले ४ हजार ७३६ मत पाइन् ।
वडामा मिश्रित नतिजा आएको छ । ७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ मा लोसपाका राजेश तेली ६९५ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा जसपाका अमरनाथ यादव ९४५ मत ल्याइ विजयी भएका छन् भने ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डे एक हजार २० मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा लोसपााका बेचुराम गडेरिया ५४७ मत ल्याइ विजयी भए भने ५ मा पनि लोसपाका सञ्जय कुमार सैनी एक हजार ४६ मत प्राप्त गरि विजयी हुन सफल भए ।
यस्तै वडा नम्बर ६ मा जसपाका विनोद यादव ५०४ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा कांग्रेसका पवनकुमार यादव ७४४ मत प्राप्त गरी निर्वाचित भए । ७ वडा रहेको कोटहीमाईमा २६ हजार २ सय ४२ मतदाता रहेकोमा २० हजार ६७५ जनाले मताधिकार प्रयोग गरेका थिए ।
१६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ । तिलोत्तमामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया