एजेन्सी । तीन वर्षअघि इन्डोनेसियामा भएको मतगणनामा २ सय ७२ जना गणकले ज्यान गुमाएका थिए । सन् २०१९ मा इन्डोनेसियामा भएको राष्ट्रपति र प्रदेश सांसदका लागि चुनावको मतगणना गर्दा गणकहरुको समेत ज्यान गएको थियो ।
त्यहाँ ८ लाखभन्दा बढ्ता मतदान केन्द्र थिए । चुनावी नजिता आउन एक महिनाभन्दा धेरै समय लागेको थियो ।
निर्वाचन आयोगले खटाएका कर्मचारी र मतगणकहरू चौबिसै घण्टा मत गणनामा खटिएका थिए । थकान र कमजोरीले चुनाव सकिएको १० दिनभित्र चुनावमा खटिएका २ सय ७२ जनाको मृत्यु भएको थियो । यीमध्ये अधिकांश मतगणक थिए । १८ सयभन्दा बढी गणक थकान, भोक, तनाव र कामको चापका कारण सिकिस्त बिरामी भए ।
इन्डोनेसियाको सरकारले खर्च बचाउने भन्दै जिल्ला, प्रदेश र संसदको चुनाव एकै दिन गराउने निर्णय गरायो । एक मतदाताले पाँचवटा मतपत्रमा छाप हानेर भोट हाल्ने व्यवस्था गरियो । यो चुनावलाई एकैदिन भएको विश्वको सबैभन्दा ठूलो चुनाव पनि भनिन्छ ।
चुनावमा राष्ट्रिय मान्यताप्राप्त १६ दल सहभागी थिए । चुनाव शान्तिपूर्ण तरिकाले भयो तर, मतगणनामा भने ठूलो दुर्घटना भयो । चुनाव भएको पछिल्लो दिनदेखि नै मतगणना सुरु गरियो । तीन तहका प्रतिनिधिका लागि भोट गरिएका करोडौँ मतपत्रबाट भोट गन्ने काम निकै सकसपूर्ण थियो ।
इन्डोनेसियाका मतदाताले जिल्ला, प्रदेश र संसद गरेर २० हजार ५ सय २८ प्रतिनिधि छान्नुपर्ने थियो । १७ अप्रिल २०१९ मा भएको चुनावमा १९ करोड मानिसले भाग लिएका थिए ।
प्रतिक्रिया