समस्यामा परेकालाई न्याय दिनु राज्यको कानुनी दायित्व हो : नैनसिंह महर

काठमाडौँ । बलात्कारी जतिसुकै वर्षपछि पहिचान भए पनि कानुनअनुसार कारबाहीको भागेदार हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन् । राजधानी काठमाडौँमा शनिबार आयजित एक कार्यक्रममा बोल्दै नेता महरले न्याय पाउनका लागि पीडित छटपटाउनु कानुनी राज्यको उपहास हुने बताए ।

सौन्दर्य प्रतियोगिताका आयोजकले एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएपछि महरको उक्त धारणा आएको हो । समस्यामा परेकालाई न्याय दिनु राज्यको पहिलो दायित्व र धर्म भएको उनले बताए ।

“अहिले संसद चलिरहेको छ । यस्ता घटनाप्रति संसदको पनि ध्यानाकृष्ट गराउन चाहन्छु । यो समाजमा जतिबेला जोसुकैको जीवनमा पनि घट्ने घटना भएकाले सबै सजग हुनुपर्छ,” उनले भने ।

“कानुनी राज्यमा कानुनको पालना हुनुपर्छ । दोषी उम्किन पाउनु हुँदैन । यी किशोरीले यति लामो समयसम्म मुख खोल्न किन सकिनन् । उहाँलाई दिइएको दबाब र धम्किको पनि अनुसन्धान हुनुपर्छ,” महरले भने । कानुनी कारबाही नभए अपराधिमा थप दम्भ बढ्ने उनी बताउँछन् ।

“अपराधिलाई कारबाही भएन भने उसको आत्मवल थप बढ्छ । र, उसले आफ्नो अपराध लीलालाई बढाउँदै लग्छ। त्यसैले अपराधिमाथि चाँडो कारबाही गर्न म सरकारसँग माग गर्छु,” उनी भन्छन् ।

महिलालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार कानुनले सुनिश्चित गरेको महरको भनाइ छ । यतिबेला बलात्कारविरुद्ध माग राख्दै माइतीघर मण्डला र बालुवाटारमा स्वस्फूर्त रुपमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति