दाङको गढवा गाउँपालिकाको अध्यक्षमा यमनारायण निर्वाचित

काठमाडौं, ४ जेठ। दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित भएका छन् । उनी ६९०९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सर्वजित डीसीले ६१६७ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार सहजराम यादव भने यसपटकको निर्वाचनमा पराजित भए । यादवले ४१३१ मत पाए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित भइन् । उनले ५१८१ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता कुमारी चौधरीले ४ हजार ८३० मत पाइन् । माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित भइन् । उनले ४११२ मत मात्र पाइन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष चुनिएकी थिइन् ।

गढवा गाउँपालिकामा जम्मा ८ वटा वडाहरु हुन् । चार वटा वडा माओवादीले जित्दा एमाले र कांग्रेसले २÷२ वटा वडामात्र जितेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा गढवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको थियो । अध्यक्षमा सहजराम अहिर र उपाध्यक्षमा शान्ति चौधरी निर्वाचित भएका थिए । एमाले विभाजनपछि निवर्तमान अध्यक्ष एमालेमै उपाध्यक्ष शान्ति एकीकृत समाजवादीमा लागिन् र माओवादी केन्द्रसँग तालमेल गरेर फेरि उपाध्यक्षमा प्रतिस्पर्धा गरिन् । तर अध्यक्ष पद माओवादीले जित्दा उपाध्यक्षमा शान्ति पराजित भइन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीले प्यानलै जितेको वडा नम्बर आठ कोइलाबास क्षेत्र यसपटक एमालेले प्यानलसहित जितेर सुखद सुरुवात गरेको थियो तर अन्य वडाका परिणाम उसका लागि सुखद रहेन ।२०७४ सालमा एमाले गाउँपालिकामा पनि पहिलो पार्टी बनेको थियो । माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा थिए । तर यसपटक माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा तीव्र हुँदा एमाले तेस्रो स्थानमा रह्यो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति