हुम्लाको नाम्खामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन


हुम्ला, १ जेठ :
नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो ।

न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार संकलित मतपेटिकाको मतगणनाकार्य आजै बेलुकासम्म सुरु गरिने छ ।

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली कांग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओबादी)का ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति