स्थानीय तह निर्वाचनमा सहभागी हुन आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

काठमाडौं, २९ बैशाख । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।

स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधनबाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् भने ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । सबै गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।

मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको निर्वाचन आयोगले बताएको छ । यसअघि मुलुक संघीय संरचनामा आएपछि पहिलोपटक २०७४ मा स्थानीय तह निर्वाचन भएको थियो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेका छ । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम छन् ।

स्थानीय तह निर्वाचनबाट ७ सय ५३ पालिकामध्ये २ सय ९३ मा नगर प्रमुख र ४ सय ६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुनेछन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

यस्तै, निर्वाचनबाट ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ खुलातर्फ वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी खटाएको छ । यस्तै, निर्वाचनमा ६५ हजार ८ सय ६५ स्वयंसेवक पनि खटिएका छन् भने निर्वाचनमा ५ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, बाग्मती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति