पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिए मात्र उसले बिजुली किन्छः प्रधानमन्त्री

काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने संकेत गरेका छन्।

स्थानीय चुनावको प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले चुनावी सभामा उक्त आयोजना अघि बढाउन भारतसँग सम्झौता गर्ने योजनाबारे सुनाएका हुन्। चिनियाँ कम्पनीले उक्त आयोजना बनाए त्यसबाट उत्पादित बिजुली भारतले नकिन्ने ठोकुवा गर्दै उनले भारतीय कम्पनीलाई नै दिएर बनाउने उल्लेख गरे।

चुनावी सभामा उनले पश्चिम सेतीसँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन कुराकानी भइरहेको बताए। यो आयोजना अघि बढाउने भन्दै विदेशी कम्पनीले लिएर वर्षौँदेखि होल्ड गर्ने काम मात्रै भएको छ। अस्ट्रेलियाको स्मेकदेखि चिनियाँ कम्पनी थ्रि गर्जेजसम्मले यसलाई लिएर होल्ड गर्ने मात्रै काम गरेका थिए।

यो आयोजना डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा निर्माण हुने भनिएको छ। फ्रान्सको कम्पनी सोग्रेहले यसको अध्ययन गरी बिजुली उत्पादन गर्न सकिने निष्कर्ष दिएको थियो। त्यतिबेला १३५ मेगावाटको बिजुली उत्पादन गर्ने भनिएकोमा पछि ७ सय ५० मेगावाट बिजुली उत्पादन गर्ने योजना बनेको थियो।

सोलगत्तै अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि २०५४ सालमा जिम्मा दिइएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो। पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारी पत्रमा हस्ताक्षर भएको थियो। चिनियाँ कम्पनीले पनि होल्ड गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति