निर्धारित समयमा सुरू भएन कार्यक्रम, ओली पर्खेका कार्यकर्ताहरू घर फर्किए

रुपन्देही, २५ वैशाख । । नेकपा एमाले रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न आएका अधिकांश कार्यकर्ता निराश हुँदै घर फर्किएका छन् ।

निर्धारित समयमा कार्यक्रम सुरु नभएपछि मध्यान्नको चर्को घाम खेपेर बसेका करिब आधा कार्यकर्ता कार्यक्रम सुरु नहुँदै घर फर्किएका हुन् । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम ३ घण्टासम्म पनि सुरु नभएपछि उत्साहित भएर आएका कार्यकर्ता घर फर्किएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्ने प्रमुख वक्ता केपी शर्मा ओली मध्यान्ह १२ बजेभित्रै बुटवल आइपुग्ने बताइए पनि उनी काठमाडौँ, चितवन लगायतका कार्यक्रममा व्यस्त हुँदा बुटवलमा ओलीलाई पर्खेर बसेका कार्यकर्ताहरू निराश हुँदै घर फर्किएका हुन् । नेकपा एमालेका एक नेताका अनुसार अध्यक्ष ओलीले बुटवलको कार्यक्रमलाई सम्बोधन गरेर चितवनको सभामा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि उक्त कार्य तालिका परिवर्तन भएपछि बुटवलका कार्यकर्ताले आइतबार दिनभर चर्को घाममा नेता कुरेर बसेका थिए । निर्धारित समयभन्दा ३ घण्टापछि दिनको दुई बजे औपचारिक कार्यक्रम सुरु हुने बेलासम्म अध्यक्ष ओली उपस्थित भएका थिएनन् । औपचारिक कार्यक्रम सुरु हुन पूर्व विभिन्न कलाकारहरूको प्रस्तुतिले कार्यकर्तालाई थामथुम पार्ने काम भएको थियो । नेता कुर्दाकुर्दै आत्तिएका कार्यकर्ताहरू कार्यक्रम स्थलबाट बाहिरिन थालेपछि भने औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । तिलोत्तमाको नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरीदेवीको चौधरीको स्वागत भाषणसँगै कार्यक्रम सुरु भएपछि भने बाँकी रहेका कार्यकर्ताहरूले आफू बस्ने ठाउँ सहज बनाउँदै केही उत्साहित देखिन्थे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति