रौतहट, २३ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थमा लिप्त बनेको गठबन्धन सरकारले देशलाई बर्बाद पारेको आरोप लगाएका छन् । ‘सरकार कसरी गठबन्धन जोगाउने भन्नेमा लागिपरेको छ,’ उनले भने, ‘दस महिना हामीले हेर्यौं । अर्थतन्त्र डमाडोल पारे ।
योभन्दा बर्बाद के हुन सक्छ ?’एमालेको निर्वाचन परिचालन कमिटी चन्द्रपुरद्वारा चन्द्रनिगाहपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दस महिनासम्म गठबन्धनलाई कसरी जोगाउने भन्नेमा मात्र सरकार केन्द्रित रहेको टिप्पणी गरे। यस क्रममा ओलीले देश र राष्ट्रिय स्वभिमानलाई माथि राख्नसक्ने एउटा बलियो शक्ति चाहिएको बताएका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला आएका ओलीले नेपाललाई नेता बनाउनु नै गम्भीर त्रुटी भएको बताए ।‘आफ्नै गृह जिल्लामा बेहाल रहेछ ।
विकास गर्लान् भनेको त केही गरेनछन्, उनले भने, ‘नेपालको कर्मथलो गौरको अवस्था झनै नाजुक रहेछ । विकास गर्न बजेट छुट्याएको सबै फ्रिज गरेछन् ।’नेता ओलीले एमालेले नजिते शुसासन राम्रो नहुने पनि बताएका थिए ।
अपरान्ह १ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भए पनि ओली ४ बजेपछि मात्रै हेलिकप्टर चढेर कार्यक्रमस्थल पुगेका थिए ।सदरमुकाम गौरस्थित राईसमिलमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि ओली चन्द्रपुरको सभालाई सम्बोधन गर्न पुगेका हुन् । पचास वर्षअघि महेन्द्र मोरङ क्याम्पसमा माधवकुमार नेपाललाई राजनीतिमा आउन प्रेरित गरेको स्मरण गराउँदै ओलीले सर्पलाई विष खुवाए जस्तै अहिले पछुतो लागेको बताएका थिए ।
प्रतिक्रिया